बाराको सिम्रौनगढ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ६३ लाख ८० हजार रुपैयाँको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पूर्वाधार, सामाजिक विकास तथा सांस्कृतिक क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाको ११औँ नगर सभामार्फत नगर प्रमुख किशोरी प्रसाद कलवारले आगामी आर्थिक वर्षको नीति तथा बजेट प्रस्तुत गरेका हुन् ।
बजेट अनुसार संघीय सरकारबाट समानिकरण अनुदान १३ करोड ४६ लाख, सशर्त अनुदान २४ करोड ७७ लाख, सशर्त अनुदान पूँजीगत २ करोड ११ लाख तथा समपूरक अनुदान ५३ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ । त्यसैगरी प्रदेश सरकारबाट समानिकरण अनुदान ९३ लाख ९० हजार, समपूरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख, सशर्त अनुदान ४० लाख तथा राजस्व बाँडफाँडबाट ८८ लाख ५७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
घरजग्गा रजिस्ट्रेसन दस्तुरमार्फत मालपोत कार्यालयबाट ६५ लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर (संघीय) बाट ८ करोड २५ लाख ५३ हजार तथा अन्तशुल्क (संघीय) बाट ३ करोड ५३ लाख ८० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै बैंक मौज्दातबाट १ करोड, सडक बोर्डबाट ५० लाख तथा आन्तरिक स्रोतबाट ४ करोड १० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख नजमु शेहर, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, आर्थिक प्रशासन प्रमुख मनिष प्रसाद कलवार, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीले गरेका थिए।