सर्लाहीको बागमती नगरपालिका–७ मा बागमती नदीले बगाउँदा एक बालक बेपत्ता भएका छन् भने उनीसँगै नदीमा पौडी खेल्न गएका अन्य तीन जना बालक सकुशल घर फर्किएका छन् ।
बेपत्ता हुनेमा बागमती नगरपालिका–७ निवासी सरगम माझीका ६ वर्षीय छोरा सफल माझी रहेका छन्। शुक्रबार साँझ बागमती नदीमा पौडी खेल्ने क्रममा आएको बाढीले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार बालक बेपत्ता भएको जानकारी शनिबार बिहान करिब ६ः३० बजे मात्र प्रहरीमा प्राप्त भएको थियो ।
बेपत्ता बालकको खोजीका लागि स्थानीयवासी, प्रहरी चौकी राजघाट, इलाका प्रहरी कार्यालय बरहथवा तथा सशस्त्र प्रहरी बलको टोली शनिबार बिहानैदेखि परिचालन गरिएको डीएसपी गौतमले जानकारी दिनुभयो ।सफलसँगै नदीमा पौडी खेल्न गएका अन्य तीन जना बालक भने सकुशल बाहिर निस्किएर शुक्रबार साँझ नै घर फर्किएका थिए ।
बर्खायाम सुरु भएसँगै बागमती नदीसहित जिल्लाका विभिन्न खोला तथा खोल्सामा आकस्मिक बाढी आउने जोखिम बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले सर्वसाधारणलाई आग्रह गरेको छ ।