भारतको महावाणिज्य दूतावास, वीरगंजले १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको शंकराचार्य गेटमा भव्य योग कार्यक्रम आयोजना गरेको छ ।
भारत र नेपालबीचको गहिरो सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक सम्बन्धको प्रतीक मानिने उक्त स्थलमा आयोजित कार्यक्रममा सयौं योगप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव रहनुभएको थियो । विशिष्ट अतिथिका रूपमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल तथा वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको सहभागिता रहेको थियो।
त्यसैगरी सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, नेपाल–भारत मैत्री संघ (निफा), पतञ्जलि योग समिति पर्सा तथा बाराका प्रतिनिधि, उद्योग–वाणिज्य क्षेत्रका सदस्य, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा विभिन्न सरकारी कार्यालयका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण योगका विद्यार्थीहरूले प्रस्तुत गरेको उन्नत योगासन प्रदर्शन बनेको थियो। विभिन्न कठिन तथा आकर्षक आसनमार्फत उनीहरूले योगमा निहित अनुशासन, एकाग्रता, लचकता र सौन्दर्यलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। उक्त प्रदर्शनले उपस्थित अतिथि तथा सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्यदूत देवी सहाय मीनाले योगलाई भारतले विश्वलाई दिएको अमूल्य उपहारका रूपमा व्याख्या गर्नुभयो। उहाँले योग केवल शारीरिक व्यायाम मात्र नभई मानसिक शान्ति, आत्मिक सन्तुलन र सामाजिक सद्भावको माध्यमसमेत भएको बताउनुभयो ।
योगले सीमाना, भाषा तथा संस्कृतिका भिन्नताभन्दा माथि उठेर मानवतालाई जोड्ने शक्ति राख्ने उल्लेख गर्दै उहाँले नेपाल–भारतबीचको मित्रता तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन योगले महत्वपूर्ण भूमिका खेलिरहेको धारणा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न स्थानमा निरन्तर योग कार्यक्रम सञ्चालन गरेकोमा भारतको महावाणिज्य दूतावास, वीरगंजको प्रशंसा गर्नुभयो । यस्ता कार्यक्रमले जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै नेपाल–भारतबीचको सांस्कृतिक आदान–प्रदान र जनसम्बन्धलाई थप मजबुत बनाएको उहाँको भनाइ थियो । मध्यरातमा परेको वर्षाका बाबजुद बिहानैदेखि ठूलो संख्यामा योगप्रेमीहरू कार्यक्रममा सहभागी भएका थिए । स्वास्थ्य, सद्भाव र समग्र कल्याणको सन्देश प्रवाह गरेको उक्त कार्यक्रमले सीमापार एकता, सहकार्य तथा दिगो जीवनशैली प्रवर्द्धनमा योगको प्रभावकारी भूमिकालाई पुनः स्थापित गरेको आयोजकले जनाएको छ ।
महावाणिज्य दूतावासले अन्तर्राष्ट्रिय योग दिवस–२०२६ अन्तर्गत सञ्चालन गरेको योग कार्यक्रमहरूको शृङ्खला शंकराचार्य गेटमा आयोजित मुख्य समारोहसँगै सम्पन्न भएको जनाएको छ । यस शृङ्खलाले योगप्रति जनचासो अभिवृद्धि गर्नुका साथै नेपाल–भारत मित्रतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ ।