बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीसहित तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार सोमबार साँझ करिब ५:४० बजे जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेका करिब ३५ वर्षीय एक पुरुष पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा पैदलयात्रीसँगै मोटरसाइकलमा सवार दुई युवकसमेत गम्भीर घाइते भएका थिए । घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो ।
उपचारका क्रममा नाम, थर र ठेगाना नखुलेका करिब ३५ वर्षीय पैदलयात्रीलाई चिकित्सकले साँझ ६:१५ बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
त्यसैगरी मोटरसाइकलमा सवार काठमाडौंको टोखा नगरपालिका निवासी करिब २० वर्षीय डिजेन जोशीको व्योधा अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको थियो ।
यस्तै, मोटरसाइकलमा सवार अर्का घाइते बारा जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया निवासी प्रभु अधिकारीका करिब २० वर्षीय छोरा सभ्य अधिकारीको पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।