बारा | बारा प्रहरीले करिब २३ लाख रुपैयाँ बराबरको खरबुजाको बिउसहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार राति सिम्रौनगढ नगरपालिका–६ पावरहाउसस्थित क्षेत्रमा सिम्रौनगढबाट महोत्तरीतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले रोकी चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा ट्रकभित्र ३१४ बोरामा राखिएको अन्दाजी १२ हजार ५६० किलोग्राम खरबुजाको बिउ फेला परेपछि ट्रकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार बरामद गरिएको बिउको अन्दाजी मूल्य २२ लाख ९९ हजार २३३ रुपैयाँ रहेको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त बिउ अवैध रूपमा चोरी निकासी गर्न लागेको खुल्न आएको उनले बताए ।
प्रहरीका अनुसार बरामद गरिएको बिउको मूल्य २२ लाख ९९ हजार २३३ रुपैयाँ तथा ट्रकको अन्दाजी मूल्य ३५ लाख रुपैयाँ गरी कुल ५७ लाख ९९ हजार २३३ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ।
घटनामा ट्रक चालक परवानीपुर गाउँपालिका–३ निवासी ३१ वर्षीय प्रवेज आलमलाई समेत नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएको बिउ, ट्रक तथा चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिए ।