जिल्ला प्रहरी कार्यालय बाराबाट नयाँ दरबन्दीतर्फ जान रवाना भएका नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको सवारी दुर्घटनामा परी मंगलबार मृत्यु भएको छ । दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् ।
सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोकस्थित हुलाकी राजमार्गमा मंगलबार दिउँसो करिब १२ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए । विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कारले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो । उपचारकै क्रममा दिउँसो ४:१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकलको पछाडि सवार उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको उपचार सोही अस्पतालमा भइरहेको छ । मृतक यादव सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी हुन् । उनी यसअघि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए । सईबाट वरिष्ठ सईमा बढुवा भएका उनले असार ६ गते जिल्ला प्रहरी कार्यालय सिराहामा दरबन्दी कायम भएपछि त्यहाँ जानका लागि रवाना लिएका थिए । तर हालसम्म उनी सिराहामा हाजिर हुन भ्याएका थिएनन् ।


दुर्घटनामा संलग्न कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी अन्दाजी ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चौधरी नेपाल मेडिकल एशोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन् । प्रारम्भिक अनुसन्धानअनुसार डा. चौधरी एक्स–रे सेवा प्रदान गर्न चिमडी बजारतर्फ जाँदै गर्दा दुर्घटना भएको खुलेको छ । प्रत्यक्षदर्शीका अनुसार कार तीव्र गतिमा गुडिरहेको थियो । ठक्कर लगत्तै मोटरसाइकलमा आगलागीसमेत भएको थियो, जसलाई स्थानीयवासीको सहयोगमा तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।