विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अदालतले आइतबार पौडेललाई दोस्रो पटक तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले म्याद थपको आदेश दिएको हो ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिसकेको थियो । विभागले अनुसन्धान अझै पूरा नभएकाले पुनः म्याद थपको माग गरेको थियो ।