वीरगंज कपडा बैंकले सोमबार दशैंको अवसरमा घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ ।
कपडा बैंकले प्रत्येक दिन आइतबारदेखि शुक्रवारसम्म बिहान १०ः३० देखि साँझ ५ बजेसम्म आफ्नो कार्यालय वीरगंज-८ बाट गरीब तथा असहायलाई कपडा वितरण गर्दै आएको छ । सोमबार घण्टाघरमा करिब १ हजार थान नयाँ तथा पुराना कपडा वितरण गरिएको कपडा बैंकका सचिव कन्हैया पटेलले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ समाजसेवी तथा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले कपडा बैंकले बिगत ६ वर्षदेखि निरन्तर रुपमा गरीब, असहाय तथा बिपत्तिमा परेकाहरूलाई लत्ताकपडा वितरण गर्दै आइरहेको उल्लेख गर्दै समाज सेवामा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । उनले भने, "जोसँग धेरै छ, उसले कपडा दान गरिदिनुहोस्, जसलाई आवश्यक छ, उसले निःशुल्क कपडा लैजानुहोस् ।"
कपडा वितरण कार्यक्रम वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । कपडा बैंकका अध्यक्ष सिंहले दिन दुखीको सेवा नै मानव धर्म भएको बताउँदै सबैलाई सामाजिक सेवामा सक्रिय हुन आह्वान गरे । उनले समाजसेवी दाता, सल्लाहकार, पदाधिकारी सदस्यहरूप्रति आभार प्रकट गर्दै बडादशैं, दीपावली र छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अधिवक्ता प्रकाश उपाध्याय, ओमप्रकाश सराफ, समाजसेवी हुकुम सिंह राजपुत, युवा अभियन्ता केदार गुप्ता, महादेव कुर्मी, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।