मकवानपुर प्रहरीले तेल बोक्ने ट्याङ्करमा लुकाएर लैजाँदै गरिएको ठूलो परिणामको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट प्रहरीले तीन क्विन्टल ९२ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेका २६ वर्षीय रोशन पुरी र २२ वर्षीय सहचालक धनबहादुर मल्ल रहेका छन् । उनीहरू ना ७ ख १७७१ नम्बरको ट्याङ्करमा पालुङबाट वीरगञ्जतर्फ अाउदै गरेका थिए ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले ट्याङ्कर भित्रको डिब्बाहरूको खानतलासी गर्दा, पाँचवटा डिब्बामध्ये तेस्रो डिब्बामा २५ वटा रातो प्लास्टिकको पोकामा लुकाएर राखिएको गाँजा फेला परेको थियो ।
प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार, पक्राउ परेकाहरू विरूद्ध थप अनुसन्धान भइरहेको छ ।