पर्साको ठोरी नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनका लागि पुनः अस्थायी पासको व्यवस्था गरिएको छ ।
भारतीय सवारीसाधनको आवागमनमा रोक लगाएपछि पर्यटन व्यवसाय प्रभावित भएको भन्दै व्यापक आलोचना भएपछि सरकारले निर्णयमा पुनर्विचार गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरीस्थित छोटी भन्सार कार्यालयमा दुई जना कर्मचारी खटाएको छ । भन्सार अधिकृत तथा सूचना अधिकारी उदयसिंह विष्टका अनुसार एक जना सुब्बा तहका कर्मचारी र एक जना कार्यालय सहयोगीलाई ठोरीमा खटाएर भारतीय सवारीलाई नि:शुल्क अस्थायी पास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
उनका अनुसार उक्त पासका आधारमा भारतीय सवारीसाधनले ठोरी क्षेत्रभित्र मात्र सञ्चालन गर्न पाउनेछन् ।
यसअघि असार १९ गतेदेखि सशस्त्र प्रहरीले ‘माथिको आदेश’ भन्दै भारतीय पर्यटकका सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । त्यसपछि ठोरीका पर्यटन व्यवसायीहरूले उक्त निर्णयको विरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
विरोध बढ्दै गएपछि प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद सीता थपलिया ले समेत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।