बाराको सिमरामा आयोजित रक्तदान कार्यक्रममा एक सय १२ जनाले रक्तदान गरेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा आयोजित कार्यक्रममा आठ महिलासहित एक सय १२ जनाले रक्तदान गरेका हुन् । देशभर हालै आएको बाढी र पहिरोका कारण रक्तसञ्चार केन्द्रहरूमा रगतको अभाव देखिएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाको आयोजनामा र सूर्य नेपाल प्रालिको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्थाहरूले सहयोग गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा नगरका प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाका अध्यक्ष शिवकुमार शर्मा, सूर्य नेपाल प्रालिका सर्विन श्रेष्ठ, मजदुर नेता बेनी तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रमले बाढी र पहिरोका कारण पीडित नागरिकलाई आवश्यक रगतको आपूर्ति सहज बनाउन योगदान पुर्याएको आयोजकले बताएका छन् ।