अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरूमाथि ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा माछाका भुरा वितरण कार्यक्रमका लागि विनियोजित बजेटमा अनियमितता गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण तथा सुदिश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदिश शरणविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार अनुसन्धानका क्रममा माछाका भुरा खरिद नै नगरी नक्कली बिल तथा कागजात तयार गरी सरकारी रकम भुक्तानी लिएको पाइएको छ । साथै, भुरा प्राप्त नगरेका कृषकहरूको नक्कली नाम, ठेगाना तथा भर्पाई तयार गरी सरकारी रकम हिनामिना गरिएको अनुसन्धानबाट खुलेको बताइएको छ ।
अख्तियारले उनीहरूबाट बिगो रकम असुलउपर गर्न तथा भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनअनुसार कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।
आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो ।