जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको ५८औँ वार्षिक साधारणसभाको अवसरमा संघ परिसरमा निर्माण तथा स्तरोन्नति गरिएका विभिन्न पूर्वाधारहरूको उद्घाटन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले कार्यक्रमका प्रमुख अतिथिका रूपमा सुविधा सम्पन्न गणेश अतिथि सदन, संघ परिसरमा नवनिर्मित गणेश मन्दिर, प्रशासकीय भवनको स्तरोन्नति तथा सौन्दर्यकरण, साथै मिथिला पेन्टिङसहितको पर्खाल र झुलाको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले उद्योग वाणिज्य संघले व्यवसायिक वातावरण सुधारसँगै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय आकर्षण अभिवृद्धिका लागि पूर्वाधार निर्माण गरेको भन्दै प्रशंसा गरेका थिए ।
आयोजकका अनुसार कार्यक्रम भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न भएको थियो । उद्घाटन गरिएका पूर्वाधारले जनकपुरधाम उद्योग वाणिज्य संघको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै जनकपुरधामको सांस्कृतिक पहिचान र सौन्दर्यलाई थप प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न ५८औँ वार्षिक साधारणसभामा संघको वार्षिक प्रगति प्रतिवेदन, भावी कार्ययोजना तथा उद्योग–व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा समेत छलफल गरिएको थियो ।