४८ टोली, १०४ खेल र ९६ वर्ष लामो विश्वकप इतिहासको २३औं संस्करण अब अन्तिम मोडमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च उपाधिका लागि स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन् ।
एकातिर लगातार दोस्रो पटक विश्वकप जितेर दुर्लभ इतिहास बनाउने लक्ष्यमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना छ भने अर्कोतिर १६ वर्षपछि विश्वकपको ट्रफी उचाल्ने सपना बोकेको स्पेन मैदानमा उत्रँदैछ । अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा सोमबार बिहान हुने फाइनल केवल उपाधिको भिडन्त मात्र होइन, दुई पुस्ता, दुई खेल शैली र दुई फरक फुटबल दर्शनबीचको निर्णायक संघर्ष पनि हुनेछ ।
अर्जेन्टिनाको नेतृत्व अनुभवी लियोनल मेसीले गरिरहेका छन् । आफ्नो ऐतिहासिक करियरको अन्तिम अध्यायलाई अझै सुनौलो बनाउने लक्ष्यमा रहेका मेसीका सामु आठौं पटक विश्वकप फाइनल खेल्दै अर्को कीर्तिमान बनाउने अवसर छ ।
यता स्पेनका लागि १८ वर्षीय युवा स्टार लामिन यमाल विश्व फुटबलको नयाँ युग सुरु गर्ने लक्ष्यसहित मैदानमा हुनेछन् । मेसीको अनुभव र यमालको युवा ऊर्जा फाइनलको मुख्य आकर्षण बन्नेछ ।
अपराजित यात्रासहित फाइनलमा दुवै टोली
समूह चरणदेखि नै अपराजित रहेका दुवै टोलीले उपाधिको दाबेदारी प्रमाणित गरेका छन् ।
स्पेनले प्रतियोगिताभर नियन्त्रणमा आधारित आक्रामक फुटबल प्रस्तुत गर्दै आफूलाई सबैभन्दा सन्तुलित टोलीका रूपमा स्थापित गरेको छ । समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेले पनि साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले पराजित गर्दै समूह विजेता बनेको थियो ।
त्यसपछि अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले हराएको स्पेनले अन्तिम १६ मा पोर्चुगल र क्वार्टरफाइनलमा बेल्जियमलाई पराजित गर्दै फाइनल यात्रा तय गर्यो । प्रतियोगिताभर स्पेनले केवल एक गोल मात्र बेहोरेको छ ।
सन् २०१० पछि पहिलो पटक विश्वकप फाइनल खेल्न लागेको स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्न चाहन्छ ।
संघर्षपूर्ण यात्रापछि अर्जेन्टिना
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको यात्रा भने तुलनात्मक रूपमा कठिन रह्यो । मेसीको कप्तानीमा अर्जेन्टिनाले समूह चरणका तीनै खेल जिते पनि नकआउट चरणमा लगातार चुनौती सामना गर्नुपर्यो ।
अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा हराएको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको थियो । क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गरेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पुनरागमन गर्दै फाइनल स्थान सुरक्षित गर्यो ।
अब अर्जेन्टिनासँग ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्ने अवसर छ ।
विश्वकपमा दोस्रो भेट
स्पेन र अर्जेन्टिनाबीच विश्वकपमा यसअघि एकपटक मात्र भेट भएको थियो । सन् १९६६ मा भएको खेलमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरेको थियो ।
विश्वकप बाहिर भने दुवै टोलीबीच १३ पटक मैत्रीपूर्ण खेल भएका छन् । जसमा स्पेनले ६ र अर्जेन्टिनाले ५ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् ।
दुवै टोलीबीचको पछिल्लो भेट सन् २०१८ मा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो ।
यी खेलाडीमा रहनेछ नजर
अर्जेन्टिनाका लागि सबैभन्दा ठूलो आशा लियोनल मेसी हुनेछन्। आठ गोलसहित गोल्डेन बुटको दौडमा रहेका मेसी फाइनलमा निर्णायक बन्न सक्छन्।
स्पेनका लागि लामिन यमालसँगै रोड्री, डानी ओल्मो, एलेक्स बाएना र रक्षापंक्तिका खेलाडी महत्वपूर्ण हुनेछन्।
अर्जेन्टिनाबाट मेसीसँगै जुलियन आल्भारेज, लाउटारो मार्टिनेज, एन्जो फर्नान्डेज र गोलरक्षक एमिलियानो मार्टिनेजमाथि पनि ठूलो जिम्मेवारी हुनेछ।
सम्भावित प्लेइङ–११
स्पेन :
उनाइ सिमोन; पेड्रो पोरो, आयमेरिक लापोर्टे, पाउ कुबार्सी, मार्क कुकुरेला; रोड्री, फाबियन रुइज; लामिन यमाल, डानी ओल्मो, एलेक्स बाएना; मिकेल ओयरजाबाल ।
अर्जेन्टिना :
एमिलियानो मार्टिनेज; नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलास टालियाफिको; लिएन्ड्रो पारेडेस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियानो सिमियोने; लियोनल मेसी, जुलियन अल्भारेज ।
खेल : स्पेन विरुद्ध अर्जेन्टिना (फाइनल)
मिति/समय : ४ साउन, बिहान १२:४५ बजे
स्थान : न्युयोर्क–न्यु जर्सी स्टेडियम
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स