पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सांसद कानुले वीरगंज महानगरपालिका–१७, २४, २५ र २६ अन्तर्गत पर्ने बहुअरी, अलौ, सिर्सिया तथा सुगौली क्षेत्रमा पुगेर बाढीका कारण जलमग्न बनेका खेतीयोग्य जमिन तथा प्रभावित बस्तीको निरीक्षण गरेका हुन् ।
स्थलगत अवलोकनका क्रममा उनले धानबालीमा पुगेको क्षति, पानी निकासको समस्या तथा स्थानीयवासीले भोगिरहेका कठिनाइबारे जानकारी लिँदै किसान, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसँग छलफल गरेका थिए ।
उनले वर्षेनी दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी प्रभावकारी योजना अघि बढाइने बताए ।
सांसद कानुले विगतदेखि करिब दुई सय बिघा खेतीयोग्य जमिन प्रत्येक वर्ष डुबानमा पर्दै आएको उल्लेख गर्दै अब उक्त समस्याको स्थायी समाधानका लागि आफू सक्रिय रूपमा लाग्ने बताए। जनधनको सुरक्षा, खेतीयोग्य जमिनको संरक्षण तथा प्रभावकारी पानी निकास व्यवस्थापनलाई प्राथमिकतामा राखेर आवश्यक योजना कार्यान्वयन गरिने उनको भनाइ थियो ।
स्थलगत अवलोकनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधीर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, रास्वपा पर्सा क्षेत्र नं. २ का उपसभापति किशोर यादव, स्थानीय जनप्रतिनिधि, किसान तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।