रौतहट क्षेत्र नम्बर–४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि मसी प्रहार भएको छ ।
बिहीबार राति गढीमाई नगरपालिका–४ स्थित पर्सा गाउँमा आयोजित ‘जनतासँग सांसद’ कार्यक्रममा सहभागी भएर फर्कने क्रममा पौडेलमाथि मसी फालिएको हो ।
सांसद पौडेलका अनुसार कार्यक्रम सकिएपछि जुत्ता लगाउने क्रममा पछाडिबाट केही व्यक्तिले आफ्नो शरीरमा मसी फालेर भागेका थिए ।
‘मसी फाल्ने व्यक्तिलाई मैले चिन्न सकिनँ,’ पौडेलले भने, ‘घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको छु ।’ पछिल्लो एक सातायता सांसद पौडेल आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भेटघाट तथा संवाद कार्यक्रम गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र चाँडै पक्राउ गरिने जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।