अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिमा बाल संरक्षण अनुदानको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगले शुक्रबार दायर गरेको आरोपपत्रअनुसार आर्थिक वर्ष २०६८/०६९ मा बाल संरक्षण भत्ताका लागि जिल्ला विकास समिति, महोत्तरीबाट साविक भरतपुर गाविसमा निकासा भएको ३ लाख ७ हजार २ सय रुपैयाँ सम्बन्धित लाभग्राहीलाई वितरण नगरी नक्कली भरपाई तयार गरेर हिनामिना गरिएको हो । आयोगका अनुसार अनुसन्धानका क्रममा तत्कालीन भरतपुर गाविसका कार्यालय सहायक उमाकान्त महतोले तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समिति, महोत्तरीका सहायक लेखापाल सुरुज साहसँगको मिलेमतोमा लाभग्राहीलाई भत्ता वितरण गरेको देखिने नक्कली भरपाई तयार गरेको पाइएको छ ।
नक्कली भरपाईमा वास्तविक लाभग्राहीबाहेक अन्य व्यक्तिलाई सहीछाप तथा औँठाछाप गर्न लगाएर पेश्की फर्छ्यौट गराई सरकारी रकम हिनामिना गरिएको आयोगले जनाएको छ । उक्त कार्य प्रयोगशाला परीक्षणबाट समेत पुष्टि भएको आयोगको दाबी छ ।
आयोगले तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी, तत्कालीन कार्यालय सहायक तथा हाल गौशाला नगरपालिका–४ का वडा सचिव (सहायक पाँचौँ) उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समिति, महोत्तरीका सहायक लेखापाल तथा हाल भंगाहा नगरपालिकामा कार्यरत अधिकृत (छैठौँ) सुरुज साहविरुद्ध जनही ३ लाख ७ हजार २ सय रुपैयाँ बिगो कायम गरेको छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको आयोगले जनाएको छ ।
त्यसैगरी, नक्कली लिखत तयार गरी पेश्की फर्छ्यौट गरेको कसुरमा भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिम समेत कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।