पर्साको वीरगंज–ठोरी हुलाकी सडकखण्डअन्तर्गत बाघमोर्चा मन्दिरबाट करिब पाँच सय मिटर अगाडि जङ्गलको काखमा रहेका चारवटा जस्तापाताले छाएका भवन अहिले नयाँ आशाको केन्द्र बनेका छन् ।
रङ्गरोगन नभएका ती भवन कुनै सामान्य संरचना नभई साबिक सुवर्णपुर गाविसअन्तर्गत ठूलो बाघमोर्चा र आठघर गाउँबीच रहेको एकमात्र सरकारी संस्था नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाघमोर्चा हो ।
शतप्रतिशत तामाङ समुदायको बसोबास रहेको यस क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि यही विद्यालयले स्थानीय बालबालिकालाई प्रारम्भिक शिक्षा दिँदै आएको छ । कुनै समय १५० भन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालय पछिल्ला वर्षमा भने विद्यार्थी अभावका कारण अस्तित्व सङ्कटमा पुगेको थियो ।
विसं २०४६ सालतिर स्थानीय अग्रजहरूको पहलमा स्थापना भएको विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुनु, निजी विद्यालयको प्रभाव बढ्नु, शिक्षक दरबन्दी घट्नु र अभिभावकको विश्वास कमजोर हुँदै जानुजस्ता कारणले विद्यार्थी सङ्ख्या घट्दै गएको थियो । शैक्षिक सत्र २०८३ को सुरुआतसम्म आइपुग्दा विद्यालयमा विद्यार्थी सङ्ख्या १२ जनामा सीमित भएको थियो ।
विद्यार्थी सङ्ख्या घटेपछि गाउँपालिकास्तरमै विद्यालय समायोजन गर्ने चर्चा सुरु भयो । तर यही अवस्थाले स्थानीय युवालाई विद्यालय जोगाउने अभियानमा सक्रिय बनायो । “हामीले पढेको विद्यालयको नाम मेटिन दिनुहुँदैन” भन्ने भावनासहित बाघमोर्चाका वैदेशिक रोजगारीमा रहेका युवाहरूले सामाजिक सञ्जालमार्फत अभियान सुरु गरे । गाउँका अधिकांश घरबाट एक जना युवा विदेशमा रहे पनि उनीहरू विद्यालय सुधारका लागि एकजुट भएका छन् ।
विद्यालय सुधारका लागि प्रवासी युवाहरूले हालसम्म करिब तीन लाख रुपैयाँ सङ्कलन गरिसकेका छन् । उक्त रकमबाट विद्यालय पोशाक, शैक्षिक सामग्री तथा आवश्यक पूर्वाधार सुधार गर्ने योजना बनाइएको छ । विद्यालय सुधार अभियानका प्रमुख प्रेरणाका रूपमा वर्तमान प्रधानाध्यापक रञ्जीत कार्की रहेका छन् । जेठको पहिलो साताबाट विद्यालयको नेतृत्व सम्हालेका कार्कीले विद्यालयको वास्तविक अवस्था सुधारका लागि पहल थाले ।
विद्यालयमा खानेपानीको समेत समस्या रहेको अवस्थामा उनले स्थानीय समुदायको सहयोगमा ३५ वर्षदेखि प्रयोगविहीन जापान सरकारको सहयोगमा निर्माण गरिएको धारालाई पुनः सञ्चालनमा ल्याए । विद्यालय परिसर सफाइ, दिवा खाजा व्यवस्थापन र शिक्षकको नियमित उपस्थितिमा समेत उनले विशेष ध्यान दिए ।
प्रधानाध्यापक कार्कीको सक्रियता र समुदायको सहयोगपछि केही महिनामै विद्यालयमा विद्यार्थी सङ्ख्या १२ बाट बढेर २५ पुगेको छ । “यही उत्साह कायम रह्यो भने आगामी वर्ष विद्यार्थी सङ्ख्या अझ बढ्ने विश्वास छ,” प्रधानाध्यापक कार्कीले बताए ।
उनका अनुसार विदेशमा रहेका ३५ भन्दा बढी युवाले विद्यालय सुधारका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अब विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने र बाघमोर्चालाई गुणस्तरीय सामुदायिक विद्यालयको नमुना बनाउने लक्ष्य राखिएको छ ।
विद्यालय सुधार अभियानमा ठोरी गाउँपालिका र वडा कार्यालयले समेत साथ दिएका छन् । चालु आर्थिक वर्षमा विद्यालय सुधारका लागि बजेट विनियोजन गरिएको छ । बजेट निकासा भएपछि जस्तापाताको छानामा फल्स सिलिङ गर्ने, भवन रङ्गरोगन गर्ने तथा आवश्यक भौतिक पूर्वाधार सुधार गर्ने तयारी छ ।
विद्यालयको अवस्था सुधारिँदै गएपछि अहिले दैनिक गतिविधिमा समेत परिवर्तन देखिन थालेको छ। पहिले सुनसान हुने विद्यालय परिसरमा विद्यार्थीहरू अतिरिक्त समयमा समेत आउने, कम्प्युटर चलाउने, खेल्ने र गृहकार्य गर्ने गरेका छन्।
अभिभावकहरू पनि पुनः विद्यालयप्रति आकर्षित हुन थालेका छन्। प्रधानाध्यापक कार्की नियमित विद्यालयमै खटिने गरेका छन् भने वडा अध्यक्ष अष्टबहादुर लोप्चनले समेत विद्यालयको अवस्था बुझ्न नियमित अनुगमन गर्ने गरेका छन्।
कुनै समय विद्यार्थी अभावका कारण समायोजनको सङ्घारमा पुगेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाघमोर्चा अहिले समुदाय, शिक्षक, स्थानीय सरकार र प्रवासी युवाको साझा प्रयासबाट पुनर्जागरणको यात्रामा अघि बढेको छ।
यो विद्यालयको कथा केवल एउटा शैक्षिक संस्थाको सुधार मात्र होइन, समुदाय एकजुट भए परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरणसमेत बनेको छ।