रौतहट । प्रहरीको नाम र पहुँचको दुरुपयोग गर्दै थुनुवालाई छुटाइदिने भन्दै एक लाख रुपैयाँ असुली गरेको आरोपमा रौतहटमा वडाध्यक्ष पदका प्रत्याशी पक्राउ परेका छन् ।
गरुडा नगरपालिका–९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैनलाई ठगी कसुरमा पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
श्रीपुरमा केही दिनअघि भएको झगडाका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए। त्यसपछि हुस्नैनले रामजनकी श्रीमतीलाई प्रहरीसँग कुरा गरी मुद्दा मिलाइदिने तथा थुनुवालाई छुटाइदिने आश्वासन दिँदै एक लाख रुपैयाँ लिएको प्रहरीको भनाइ छ ।
रकम बुझाएपछि पनि रामजन नछुटेपछि उनकी श्रीमतीले आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा हुस्नैनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यका अनुसार प्रहरीको नाममा रकम असुली गर्ने कार्य गम्भीर विषय भएकाले जाहेरीका आधारमा हुस्नैनलाई पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
यसै घटनामा गरुडा नगरपालिका–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवा छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा जाहेरी परेको छ । सहनीमाथि लागेको आरोपबारे समेत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक आचार्यले बताए ।
तर सहनीले आफूले रामजनलाई छुटाउन कसैसँग पनि रकम नलिएको भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।
हुस्नैन हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन्। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।