वीरगंज महानगरपालिका–११ निवासी प्रेमशंकर रौनियार विगत १३ महिनादेखि ब्रेन हेमरेज भएपछि उपचाररत रहेका छन् ।
लामो समयदेखि श्रीमान उपचार गराउँदै आएकी उनकी श्रीमती रुबी गुप्ताका अनुसार उपचारमा हालसम्म ५० लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको गुप्ता बताएकि छन् ।
उपचारमा ठूलो रकम खर्च भएपछि परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ। श्रीमानको उपचारलाई निरन्तरता दिन आर्थिक समस्या भएपछि रुबीले देश–विदेशमा रहेका नेपाली, आफन्त, शुभेच्छुक तथा सहयोगी मन भएका व्यक्तिहरूसँग आर्थिक सहयोगका लागि अपिल गरेकी छन् ।
रुबीका अनुसार प्रेमशंकरको दैनिक फिजियोथेरापीमा मात्रै करिब २ हजार रुपैयाँ खर्च हुने गरेको छ । औषधि तथा अन्य उपचार खर्च जोड्दा दैनिक करिब ३ हजार रुपैयाँसम्म खर्च हुने गरेको उनले भनिन् । उपचारसँगै घरायसी खर्चसमेत धान्नुपर्ने भएकाले बबिता चिन्तित छिन् ।
प्रेमशंकरको परिवारमा आमाबुबा, श्रीमती र दुई छोरा छन् । लामो समयदेखि उपचारमा रहँदा परिवारको नियमित आम्दानीको स्रोतसमेत प्रभावित भएको छ । उपचार खर्च जुटाउन कठिन भएपछि परिवारको दैनिक जीवनयापनसमेत समस्यामा परेको रुबीले बताइन् ।
वीरगंजस्थित रहेको सिद्धार्थ मा।विमा विगत ११ वर्षदेखि शिक्षण पेशमा रहेका प्रेमशंकरलाई अहिलेसम्म कुनै जनप्रतिनिधि वा सांसदले आफ्नो परिवारको अवस्था बुझ्न नआएको तथा वडा अध्यक्षले समेत श्रीमानको स्वास्थ्य अवस्था र परिवारको पीडाबारे हालखबर नसोधेको रुबीले गुनासो गरेकी छन् । लामो समयदेखि उपचाररत श्रीमान्को अवस्था र परिवारको आर्थिक संकटबारे स्थानीय जनप्रतिनिधिबाट समेत चासो नदेखाइँदा आफूहरू थप निराश भएको उनको भनाई छ ।
यसैबीच, प्रेमशंकरको उपचारका लागि सहयोग जुटाउने उद्देश्यले आइतबार पर्सा जिल्ला शिक्षक संघ नेपालका अध्यक्ष कोम तीर्थराज यादव सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू उनको घरमा पुगेका छन्। उनीहरूले परिवारलाई आर्थिक सहयोग गर्नुका साथै आगामी दिनमा समेत उपचारका लागि थप सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
रुबीले भनिन्, “लामो समयदेखि श्रीमानको उपचार भइरहेको छ । उपचार निरन्तरता दिन ठूलो रकम आवश्यक छ । परिवारको आर्थिक अवस्था कमजोर भइसकेकाले अब समाजको सहयोगबिना उपचार अगाडि बढाउन निकै कठिन भएको छ।”
प्रेमशंकरको उपचार अझै जारी रहेकाले आगामी दिनमा पनि ठूलो रकम आवश्यक पर्ने परिवारले जनाएको छ। त्यसैले परिवारले देश तथा विदेशमा रहेका नेपाली, आफन्त, साथीभाइ, संघसंस्था, व्यवसायी, समाजसेवी तथा सहयोगी मन भएका सम्पूर्ण व्यक्तिहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ।
सानो–सानो सहयोगले पनि प्रेमशंकरको उपचारलाई निरन्तरता दिन ठूलो मद्दत पुग्ने परिवारको विश्वास छ। परिवारले सहयोगी हातहरूबाट प्राप्त सहयोगलाई जीवन बचाउने आशाको रूपमा लिएको जनाएको छ।