त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पहलपछि प्रहरीले प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको हो ।
प्रश्नपत्र बाहिरिएको जानकारी पाएपछि मन्त्री पोखरेलले शनिबार राति नै नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीसँग छलफल गरी अनुसन्धानका लागि निर्देशन दिएका थिए । त्यसलगत्तै प्रहरीले आरोपित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार एमबीएस प्रथम सत्रको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको थियो। उक्त प्रश्नपत्र ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको पाँच मिनेटमै पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रश्नपत्र बाहिरिएको विषयमा फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ ले त्रिविको ध्यानाकर्षण गराएको थियो । उक्त पेजले ह्वाट्सएप समूहका स्क्रिनसटसमेत सार्वजनिक गरेको थियो । घटनापछि त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो। साथै, परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।
त्रिवि परीक्षा सञ्चालक समितिले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिका सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्रा.डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्रा.डा. महेशराज ओझा रहेका छन् ।
समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।