वीरगंजस्थित नारायणी अस्पतालमा शनिबार भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा यहाँका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू अनिश्चितकालीन हड्तालमा उत्रिएका छन् । हड्तालका कारण आकस्मिक सेवासमेत प्रभावित भएको छ ।
शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगंज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । पटेलको मृत्युपछि आक्रोशित परिवारजन तथा स्थानीयले अस्पतालमा प्रदर्शन गर्दै आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै कार्यरत चिकित्सक डा. प्रमोद राममाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका डा. रामको आइसियुमा उपचार भइरहेको छ ।
घटनापछि शनिबार साँझ अस्पतालको सभाकक्षमा अस्पताल प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासनसहित बसेको बैठकले घटनाबारे छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । बैठकले आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. रामकिशोर सिंह तथा स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई एक साताका लागि निलम्बन गर्ने निर्णयसमेत गरेको थियो ।
उक्त निर्णयको विरोधमा नेपाल चिकित्सक संघ नारायणी शाखाको आह्वानमा आइतबार दिउँसोदेखि वीरगंजका नारायणी अस्पतालसहित सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। चिकित्सकहरूले आकस्मिक सेवासमेत बहिष्कार गर्दै सम्पूर्ण उपचार सेवा ठप्प पारेका छन् ।
नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोजकुमार गुप्ताको अध्यक्षतामा आइतबार बसेको बैठकले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
संघले डा. रामसहित स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण, अस्पतालमा तोडफोड तथा अन्य अवाञ्छित गतिविधिमा संलग्न दोषीमाथि मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ (संशोधनसहित) बमोजिम तत्काल मुद्दा दर्ता गरी कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
त्यस्तै, घटनापछि निलम्बन गरिएका नारायणी अस्पतालका चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीको निलम्बन तत्काल फिर्ता गर्नुपर्ने, घटनाबारे छानबिन गर्न गठित समिति खारेज गर्नुपर्ने तथा चिकित्सक र स्वास्थ्य संस्थाको कार्यसम्पादनमा हुने अनधिकृत हस्तक्षेप, अनावश्यक दबाब र सार्वजनिक रूपमा गरिने पूर्वाग्रही तथा चरित्रहत्या गर्ने टिप्पणी रोक्नुपर्ने माग संघले अघि सारेको छ।
संघले नारायणी अस्पतालसहित सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले डर, त्रास, धम्की वा दबाबबिना सुरक्षित वातावरणमा काम गर्न सक्ने गरी प्रभावकारी र दिगो सुरक्षा व्यवस्थाको तत्काल ग्यारेन्टी गर्नसमेत माग गरेको छ ।
उल्लिखित मागहरू सम्बोधन नभएसम्म वीरगन्जका नारायणी अस्पतालसहित सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्था र मेडिकल कलेजमा आकस्मिक सेवासमेत बहिष्कार गरी सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलन जारी राखिने संघका अध्यक्ष डा. मनोजकुमार गुप्ताले बताएका छन् ।
यसैबीच, नेपाल चिकित्सक संघको केन्द्रीय समितिले पनि आइतबार विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा घटनाका दिन आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाउँदै उनीहरूको निलम्बन तत्काल फिर्ता लिन माग गरिएको छ ।
अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि कुटपिटमा संलग्नलाई तत्काल कारबाही नगरिए र स्वास्थ्यकर्मीको निलम्बन फिर्ता नलिए संघ आन्दोलनमा उत्रिने चेतावनीसमेत अध्यक्ष रिजालले दिएका छन् ।