नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको कूटनीतिक पहल र संवादबाट उक्त सहायता सुनिश्चित भएको जनाइएको छ ।
गाभीले नेपाललाई नियमित खोप कार्यक्रम सञ्चालनका लागि प्रदान गर्दै आएको सहायता रकमको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याएको थियो। त्यस क्रममा नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत मिनाहा भएको छ ।
मन्त्री मेहताको पहल र गाभीसँगको संवादपछि सहायता रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै उक्त रकम मिनाहा गराउन सफलता मिलेको जनाइएको छ। यसले नेपालको राष्ट्रिय नियमित खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहँदै आएको छ ।
विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेको अवस्थामा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनी देखाइएको रकम मिनाहा हुनु नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउन महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
गाभीबाट प्राप्त हुने उक्त सहायताले नियमित खोप सेवाको निरन्तरता कायम राख्न तथा खोप कार्यक्रमको प्रभावकारी सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।