नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनापछि नेपाल चिकित्सक संघको केन्द्रीय टोली वीरगंज पुगेको छ ।
संघका महासचिव डा. विश्वराज दवाडी र सहकोषाध्यक्ष डा. तेजसु सिंह मल्ल नेतृत्वको टोलीले घटनास्थलको निरीक्षण गर्दै घाइते चिकित्सक, अस्पताल प्रशासन तथा नेपाल चिकित्सक संघ वीरगञ्ज शाखाका पदाधिकारीसँग विस्तृत छलफल गरेको हो ।
टोलीले आक्रमणमा घाइते भएका डा. प्रमोद राम र उनका परिवारसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, कोषाध्यक्ष डा. संयुक्त आचार्य तथा वीरगंज शाखाका पदाधिकारीसँगको परामर्शपछि डा. रामलाई थप उपचार र सुरक्षाका लागि काठमाडौं लैजाने निर्णय गरिएको सहकोषाध्यक्ष डा. तेजसु सिंह मल्लले जानकारी दिए ।
घटनापछि नेपाल चिकित्सक संघको केन्द्रीय टोली र वीरगंज शाखाका चिकित्सकबीच करिब तीनदेखि चार घण्टासम्म छलफल भएको थियो । छलफलका क्रममा चिकित्सकहरूले हालको असुरक्षित वातावरणमा नारायणी अस्पतालमा आकस्मिक तथा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेका छन् ।
चिकित्सकहरूको उक्त निर्णयप्रति नेपाल चिकित्सक संघले पूर्ण समर्थन र ऐक्यबद्धता जनाएको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ ।
संघले आक्रमणमा घाइते चिकित्सक डा. प्रमोद राममाथि अस्पताल प्रशासनले गरेको निलम्बनप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
त्यसैगरी, घटनामा संलग्न सबै व्यक्तिलाई कानुनबमोजिम पक्राउ गरी अदालतमा उपस्थित नगरिएसम्म नारायणी अस्पतालमा जारी आन्दोलन नरोकिने अडान संघले दोहोर्याएको छ ।
सहकोषाध्यक्ष डा. मल्लका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारीसँग भएको भेटमा पनि केवल आश्वासनले समस्या समाधान नहुने भन्दै दोषीविरुद्ध ठोस र प्रभावकारी कानुनी कारबाही अघि बढाउन आग्रह गरिएको छ। यस क्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अनिल विक्रम कार्कीसँग परामर्श गरिएको तथा डा. निरज सिंहले आवश्यक समन्वय र सहयोग गरेको जानकारी पनि दिइएको छ ।
नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य संस्थामाथिको हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गर्दै सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न पाउनु चिकित्सकको मौलिक व्यावसायिक अधिकार भएको जनाएको छ ।
संघले दोषीमाथि निष्पक्ष र कडा कानुनी कारबाहीको माग गर्दै चिकित्सकहरूको सुरक्षा, पेशागत सम्मान र अधिकारको पक्षमा सधैँ दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।