प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा गएराति काठमाडौंमा निधन भएको छ ।
रूपन्देहीलाई कर्मथलो बनाएर लामो समयदेखि पत्रकारितामा सक्रिय ज्ञवालीको ८० वर्षको उमेरमा निधन भएको उनका छोरा सागर ज्ञवालीले जानकारी दिए ।
रूपन्देहीको शङ्करनगर स्थायी घर भएका ज्ञवाली पछिल्लो समय मुटु र फोक्सोमा समस्या देखिएपछि काठमाडौंस्थित बि एन्ड बि अस्पतालमा उपचाररत थिए । लामो समय शिक्षण पेसामा समेत आबद्ध रहेका उनले विसं २०२४ देखि पत्रकारिता यात्रा सुरु गरेका थिए ।
ज्ञवालीले पछिल्लो समय ‘लुम्बिनी सन्देश’ साप्ताहिकको सम्पादक तथा पत्रकारिता प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए । पत्रकारिता क्षेत्रमा लामो समय योगदान पुर्याएका ज्ञवालीलाई नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता सेनानी सम्मान, पत्रकार महासङ्घ रूपन्देहीले उत्कृष्ट पत्रकारिता पुरस्कार तथा नेपाल सरकारले वरिष्ठ पत्रकार सम्मान प्रदान गरेको थियो ।
त्यसैगरी, वीरगंजस्थित पत्रकार गोपालचन्द्र गौतम स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको गोपाल गोतामे स्वर्णपदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मानबाट पनि उनी सम्मानित भएका थिए ।
ज्ञवालीको आज बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनका पत्नी, एक छोरी र दुई छोरा छन् ।