रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नामलाई लिएर लामो समयदेखि जारी विवाद फेरि चर्किएको छ ।
मंगलबार राति गाउँ प्रवेशद्वारमा राखिएका ‘पेटभर्वा’ लेखिएका स्वागत बोर्डमा तोडफोड तथा कालोमोसो दलिएपछि स्थानीयस्तरमा तनाव बढेको हो ।
स्थानीयका अनुसार गाउँका तीन वटा स्वागत बोर्ड उखेलेर फालिएको छ भने थप दुई वटा बोर्डमा कालोमोसो दलिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही गर्न उनीहरूले प्रशासनसँग माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक रादेश खत्रीले एउटा बोर्डमा तोडफोड गरिएको र अर्को बोर्डमा अज्ञात व्यक्तिले कालोमोसो दलेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
स्थानीयवासीका अनुसार ‘पेटभर्वा’ नाम पुस्तौंदेखि सरकारी अभिलेख, नक्सा तथा प्रशासनिक कागजातमा कायम रहँदै आएको छ । तर केही वर्षयता कानुनी प्रक्रिया र सर्वपक्षीय सहमतिबिनै ‘यदुवंशीनगर’ नाम प्रयोग गर्न थालिएपछि विवाद सुरु भएको उनीहरूको दाबी छ ।
उनीहरूका अनुसार २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनपछि वडा कार्यालयको छाप तथा लेटरप्याडमा ‘यदुवंशीनगर’ उल्लेख हुन थालेपछि गाउँ दुई पक्षमा विभाजित भएको हो । विरोधपछि केही समय ‘पेटभर्वा’ नाम प्रयोग गरिए पनि २०७९ को निर्वाचनपछि पुनः ‘यदुवंशीनगर’ नाम नै प्रयोग हुन थालेको स्थानीयको भनाइ छ ।
विवाद समाधानका लागि स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय रौतहट, गृह मन्त्रालयदेखि सर्वोच्च अदालतसम्म गुहार मागेका छन् । जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुनअनुसार आधिकारिक नाम, छाप र लेटरप्याड मात्र प्रयोग गर्न वडा कार्यालयलाई निर्देशन दिँदै दुई पटक तीन दिनभित्र लिखित स्पष्टीकरणसमेत मागेको थियो । तर प्रशासनको निर्देशन पूर्ण रूपमा कार्यान्वयन नभएको स्थानीयको आरोप छ ।
यसैबीच, गाउँको नाम तथा वडा कार्यालयको छाप र लेटरप्याडमा ‘यदुवंशीनगर’ प्रयोग गरिएको विषयमा दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यद्यपि विवादको संवेदनशीलतालाई ध्यानमा राख्दै अदालतले अग्राधिकारका साथ शीघ्र सुनुवाइ गरी अन्तिम निर्णय गर्न आदेश दिएको छ । अदालतले यो विवाद जातीय, भाषिक, सांस्कृतिक तथा सामाजिक सद्भावसँग जोडिएको विषय भएकाले ढिलाइ नगरी टुंगो लगाउनुपर्ने उल्लेख गरेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले यसअघि सरकारी अभिलेखमा रहेको गाउँको नाम परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय तथा कानुनी प्रक्रिया अनिवार्य हुने स्पष्ट पार्दै आएका छन् ।
यता वर्तमान वडा अध्यक्ष राम एकवाल यादव र पूर्व वडा अध्यक्ष हिरालाल यादवले भने नगर कार्यपालिका बैठकबाट गाउँको नाम परिवर्तन गर्ने निर्णय भइसकेकाले वडा कार्यालयको छाप तथा लेटरप्याडमा ‘यदुवंशीनगर’ नाम प्रयोग गरिएको दाबी गर्दै आएका छन् ।
लामो समयदेखि जारी नाम विवादका बीच स्वागत बोर्डमा गरिएको तोडफोड र कालोमोसो दल्ने घटनाले गाउँमा सामाजिक ध्रुवीकरण थप बढ्न सक्ने चिन्ता स्थानीयहरूले व्यक्त गरेका छन् । उनीहरूले कानुनी प्रक्रियामार्फत विवादको स्थायी समाधान खोज्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
स्थानीयवासीले अब सर्वोच्च अदालतबाट आउने अन्तिम निर्णयले वर्षौंदेखि कायम गाउँको नाम विवादको निकास दिने अपेक्षा गरेका छन् ।