महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा भएको आन्दोलनपछि स्थानीयवासीविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै स्थानीय पुनः आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण बीपी राजमार्गअन्तर्गत सिन्धुली–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ ।
आन्दोलनरत स्थानीयले जेठ १२ गते जिल्ला प्रशासन कार्यालय महोत्तरी र आन्दोलनकारी पक्षबीच भएको सहमतिविपरीत वन कार्यालयको सवारीसाधनमा भएको क्षतिको घटनालाई आधार बनाएर केही व्यक्तिविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको आरोप लगाएका छन् । उनीहरूले उक्त मुद्दा तत्काल फिर्ता गर्न माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।
जेठ ११ गते डिभिजन वन कार्यालयका कर्मचारीले कालापानी क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासीलाई लालपुर्जा देखाउन वा बस्ती खाली गर्न मौखिक जानकारी दिएपछि स्थानीय विरोधमा उत्रिएका थिए। कुनै पूर्वतयारी र वैकल्पिक व्यवस्थाबिना बस्ती खाली गर्न दबाब दिइएको भन्दै स्थानीयले त्यसबेला पनि बीपी राजमार्ग अवरुद्ध गरेका थिए ।
आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा डिभिजन वन कार्यालयको एउटा सवारीसाधनमा आगजनी भएको थियो। सोही घटनालाई आधार बनाएर बर्दिबास–३ का वडाध्यक्ष विराट बिष्ट, युवा नेता गणेश बस्नेत, स्थानीय व्यवसायी रोशन कार्की र सञ्जीव भण्डारीविरुद्ध आपराधिक उपद्रवको जाहेरी दर्ता गरिएको जनाइएको छ ।
आन्दोलनकारीका अनुसार तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा भएको वार्तामा वन कार्यालयको सवारीसाधनमा भएको क्षतिको लागत सरकारले व्यहोर्ने, वडा कार्यालय र नगरपालिकाले क्षतिको विवरण सङ्कलन गरी प्रमाणीकरण गर्ने तथा जग्गासम्बन्धी विषयमा हस्तक्षेप नगर्ने सहमति भएको थियो । तर, सोही सहमतिविपरीत मुद्दा दर्ता गरेर सरकारले सामाजिक असन्तोष बढाउन खोजेको आन्दोलनकारीको आरोप छ । युवा नेता गणेश बस्नेतले आफूहरूमाथि लगाइएको मुद्दा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
वडाध्यक्ष विराट बिष्टले नागरिकको आवास अधिकारको पक्षमा उभिँदा आफूहरूमाथि मुद्दा लगाइएको भन्दै यसलाई लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको टिप्पणी गरेका छन् । आन्दोलनकारीले डिभिजन वन कार्यालय प्रमुख अजय मिश्रको भूमिकामाथि समेत छानबिन गर्न माग गरेका छन् । यता, महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले वन कार्यालयका कर्मचारीलाई अवरोध गरी सरकारी सवारीसाधनमा आगजनी गर्ने घटनामा संलग्न व्यक्तिविरुद्ध असार १९ गते मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
उनले अनुसन्धान प्रक्रियामा रहेको मुद्दा कानुनी प्रक्रिया पूरा नगरी तत्काल फिर्ता गर्न नसकिने बताए । आन्दोलनका कारण अवरुद्ध सडक खुलाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालाबीच छलफल भइरहेको उनको भनाइ छ ।
यसैबीच, बीपी राजमार्ग सञ्चालनमा ल्याउन बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिना तथा राजनीतिक दलका प्रतिनिधिहरू आन्दोलनकारीसँग छलफलमा जुटेका छन् । तर स्थानीयले मुद्दा फिर्ता भएपछि मात्रै आन्दोलन स्थगित गर्ने अडान लिएका छन् ।