सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना र उत्पादन विस्तारले गति लिए पनि उद्योगलाई आवश्यक सेवा उपलब्ध गराउन निर्माण गरिएका सेवामूलक पूर्वाधार भने वर्षौंदेखि उपयोगविहीन बनेका छन् ।
करिब ४५ करोड रुपैयाँको लागतमा निर्माण गरिएका भवन सञ्चालनमा नआउँदा सरकारी लगानीको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । सेजको ब्लक ‘ए’ भित्र उद्योगीलाई एउटै परिसरबाट बैंकिङ, भन्सार, बीमा, हुलाक, स्वास्थ्य सेवा तथा बाल हेरचाहलगायत सुविधा उपलब्ध गराउने उद्देश्यले प्रशासनिक भवनसहित सात वटा संरचना निर्माण गरिएको थियो । तर सम्बन्धित निकाय र निजी सेवा प्रदायक संस्थाको उदासीनताका कारण ती भवन अझै सञ्चालनमा आउन सकेका छैनन् ।
लामो समयदेखि प्रयोगविहीन रहँदा भवनका झ्याल–ढोका बिग्रिन थालेका छन् भने नियमित मर्मत–सम्भारको अभावमा संरचना जीर्ण बन्दै गएका छन् । सिमरा सेजका फिल्ड प्रमुख अजय चौधरीका अनुसार सेवा सञ्चालनका लागि दुई वर्षअघि नै प्रस्ताव आह्वान गरिएको थियो । केही बैंक तथा वित्तीय संस्थाले भवनको अवलोकन गरे पनि भवनको आकार आवश्यकताभन्दा ठूलो भएको भन्दै सेवा सञ्चालनमा चासो देखाएनन् ।
त्यसपछि सेजभित्र सञ्चालनमा रहेका तथा निर्माणाधीन उद्योगलाई कार्यालय प्रयोजनका लागि भवन उपलब्ध गराउने निर्णय गरिएको भए पनि उद्योगीहरूले समेत हालसम्म कुनै ठोस रुचि देखाएका छैनन् ।यद्यपि, विशेष आर्थिक क्षेत्र प्राधिकरणले प्रशासनिक भवन आगामी साउनको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । प्रशासनिक सेवा सुरु भएपछि अन्य सेवामूलक भवन पनि क्रमशः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
हाल सिमरा सेजको ब्लक ‘ए’ मा स्वीकृत २२ उद्योगमध्ये ६ उद्योग सञ्चालनमा छन् । १० उद्योग निर्माणको अन्तिम चरणमा रहेका छन् भने बाँकी ६ उद्योग पूर्वाधार निर्माणको तयारीमा छन् ।
उद्योगको संख्या बढ्दै गए पनि बैंकिङ, भन्सार, बीमा, स्वास्थ्यलगायत आधारभूत सेवा सञ्चालन नहुँदा उद्योगीहरू अझै बाह्य कार्यालय धाउन बाध्य छन् ।