जनकपुरधाम । मधेश प्रदेशको विकासको मेरुदण्डका रूपमा हेरिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । परियोजनाअन्तर्गत अधिकांश सडक कालोपत्र सम्पन्न भइसकेको छ भने पुल निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ ।
हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडक खण्डमध्ये ३४७ दशमलव ६३ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको छ, जुन कुल दूरीको ९० प्रतिशतभन्दा बढी हो ।
यस सडक खण्डमा हालसम्म २४ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । साथै, धनुषामा तीन, सर्लाहीमा सात, महोत्तरीमा तीन र सिरहामा तीन गरी १९ वटा पुल निर्माण अन्तिम चरणमा पुगेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार अझै ५८ दशमलव ८ किलोमिटर सडकमा कालोपत्र गर्न बाँकी रहेको छ । तीमध्ये १२ दशमलव ८ किलोमिटर सडकको ठेक्का प्रक्रिया प्रारम्भ भइसकेको छ भने बाँकी खण्डमा पनि निर्माण कार्य अघि बढाउने तयारी भइरहेको छ ।
हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख कृष्णकुमार महतोका अनुसार चालु आर्थिक वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ ।
जिल्लागत रूपमा हेर्दा सिरहामा २९ दशमलव ९८ किलोमिटर, महोत्तरीमा ९१ दशमलव ५६ किलोमिटर र सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ ।
हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम जोड्ने यस राजमार्गको कुल लम्बाइ एक हजार ७९२ किलोमिटर पुग्नेछ । यसले तराई–मधेशका जिल्लाबीचको यातायात, व्यापार, कृषि तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।