रौतहटको गरुडा नगरपालिका, ईशनाथ नगरपालिका र दुर्गा भगवती गाउँपालिकामा पछिल्लो एक महिनादेखि अज्ञात वन्यजन्तुले घरपालुवा पशुमाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
लगातार बाख्रा तथा अन्य पशुचौपाया मारिन थालेपछि डिभिजन वन कार्यालय, रौतहटले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख मनोजकुमार ठाकुरद्वारा जारी सूचनाअनुसार सबैभन्दा बढी घटना गरुडा नगरपालिका–१ जयनगर क्षेत्रमा देखिएको छ । रातको समयमा अज्ञात वन्यजन्तुले खोरमै प्रवेश गरी बाख्रालाई आक्रमण गर्ने, विशेषगरी आन्द्रा–भुँडी लगायत शरीरका विभिन्न भागमा क्षति पुर्याएर मार्ने गरेको पाइएको छ ।
यस्तै, पछिल्ला केही दिनयता ईशनाथ नगरपालिका–१ र ३ तथा दुर्गा भगवती गाउँपालिकाका विभिन्न वडामा पनि यस्तै प्रकृतिका घटना भएको वन कार्यालयले जनाएको छ ।
घटनाको वास्तविकता पत्ता लगाउन डिभिजन वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) सौराहासँग समन्वय गरी प्राविधिक टोली परिचालन गरेको छ । टोलीले प्रभावित क्षेत्रमा निरन्तर निगरानी र खोजी कार्य गरिरहेको भए पनि हालसम्म आक्रमण गर्ने वन्यजन्तुको पहिचान हुन सकेको छैन ।
वन कार्यालयले अर्को सूचना जारी नभएसम्म प्रभावित क्षेत्रका स्थानीयलाई राति एक्लै बाहिर ननिस्कन, बालबालिका तथा ज्येष्ठ नागरिकलाई अनावश्यक रूपमा घरबाहिर जान नदिन, घरपालुवा पशु सुरक्षित खोरमा राख्न र खोर वरिपरि पर्याप्त उज्यालोको व्यवस्था गर्न आग्रह गरेको छ । त्यस्तै, घर तथा पशुखोर आसपासका झाडी सफा राख्न, गन्ध आउने फोहोर खुला स्थानमा नराख्न तथा कुनै वन्यजन्तु देखिएमा लखेट्ने वा समात्ने प्रयास नगरी तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
वन कार्यालयले घरपालुवा पशुमाथि आक्रमण भएको अवस्थामा घटनास्थलका प्रमाण सुरक्षित राखी तत्काल जानकारी गराउन आग्रह गर्दै वन्यजन्तुको पहिचान र नियन्त्रणका लागि प्राविधिक टोली निरन्तर परिचालनमा रहेको जनाएको छ ।