पचरौता नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सवारी साधन, मेशिनरी तथा औजार मर्मतका नाममा रु. ६८ लाख ४८ हजार १८० खर्च गरेको पाइएको छ ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार नगरपालिकाले विभिन्न मर्मत तथा सर्भिस सेन्टर, कर्मचारी, कार्यालय सहयोगी तथा अन्य व्यक्तिमार्फत सवारी साधन र मेशिनरी मर्मत गराउँदै उक्त रकम भुक्तानी गरेको उल्लेख गरिएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५(१-क२) अनुसार कम्पनीको आधिकारिक मर्मत वा सर्भिस सेन्टरबाट गरिने सवारी साधन, मेशिनरी, औजार तथा विद्युतीय उपकरणको रु. ५ लाखसम्मको मर्मत सोझै खरिद गर्न सकिने व्यवस्था रहेको छ ।
तर, प्रतिवेदनअनुसार पचरौता नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा मेशिनरी तथा औजार मर्मतमा रु. १० लाख र सवारी साधन मर्मतमा रु. ५८ लाख ४८ हजार १८० खर्च गरी कुल रु. ६८ लाख ४८ हजार १८० व्यय गरेको देखिएको छ । एकै आर्थिक वर्षमा मर्मत शीर्षकमा ठूलो रकम खर्च भएको उल्लेख गर्दै महालेखापरीक्षकको कार्यालयले यस्ता खर्चलाई नियन्त्रण गरी मितव्ययी बनाउन सुझाव दिएको छ । उक्त आर्थिक वर्षमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तराज जोशी तथा लेखापाल हासिम मियाँ अन्सारी कार्यरत रहेका थिए ।
यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत वसन्तराज जोशीसँग सम्पर्क गर्न खोजिए पनि उहाँ सम्पर्कमा आउन चाहनुभएन ।