जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य मनीष झाले रास्वपाका कार्यकर्ताहरू हिन्दुवादी अभियन्ता हुन पाउने बताएका छन् । उनले राजनीतिक दलको सदस्य हुनु र व्यक्तिगत रूपमा कुनै धार्मिक वा सामाजिक अभियानमा सहभागी हुनु फरक विषय भएको उल्लेख गर्दै त्यसलाई विवादको विषय बनाउन नहुने बताएका हुन् ।
आइतबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै सांसद झाले हिन्दु सम्राट सेनाका तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेको स्वीकार गरे। तर, उनले त्यसलाई व्यक्तिगत स्वतन्त्रताको अभ्यासका रूपमा व्याख्या गर्दै अनावश्यक रूपमा आलोचना गर्नु उचित नभएको बताए ।
उनले रास्वपाको सदस्य भएकै कारण कुनै व्यक्तिले आफ्नो धार्मिक आस्था वा सामाजिक अभियान त्याग्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।
‘हाम्रो कार्यकर्ता १५ जनामध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हुनुहुन्थ्यो, तर उहाँ हिन्दुवादी अभियन्ता पनि हो। त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो । हिन्दुवादी अभियन्ता हाम्रो पार्टीको सदस्य पनि हुन पाउनुहुन्छ,’ उनले भने ।
सांसद झाले रास्वपाका सदस्यहरूको राजनीतिक जीवनसँगै व्यक्तिगत सामाजिक र धार्मिक पहिचान पनि रहने उल्लेख गर्दै उनीहरू वार्ताको प्रक्रियामा सहभागी हुन सक्ने बताए । वार्ताका क्रममा आन्दोलनकारीका मागलाई सरकारले सुनेको र उचित तथा सम्भावित मागबारे थप छलफल गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
उनका अनुसार हिन्दु सम्राट सेनाका प्रतिनिधिसँग सरकारले करिब साढे नौ घण्टा लामो वार्ता गरेको थियो । आन्दोलनकारीका मागहरू संवैधानिक, व्यावहारिक तथा सामाजिक दृष्टिले कार्यान्वयनयोग्य बनाउने उद्देश्यका साथ विस्तृत छलफल गरिएको उनले जानकारी दिए ।
वार्तामा गृह मन्त्रालय, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको उनले बताए ।
सांसद झाले आन्दोलनकारीले उठाएका मागमध्ये कार्यान्वयन गर्न सकिने र उचित विषयलाई मात्र अघि बढाउने गरी सहमति जुटाउने प्रयास गरिएको बताए। उनका अनुसार पहिलो चरणको वार्तामा सहभागी हुन नसकेका केही पक्षले असन्तुष्टि जनाएपछि दोस्रो चरणमा थप दुई घण्टा छलफल गरिएको थियो । त्यसक्रममा उनीहरूले थप छ वटा नयाँ माग प्रस्तुत गर्नुका साथै केही पुराना माग संशोधन गर्न प्रस्ताव गरेका थिए ।
सुरक्षा निकायका अधिकारी तथा गृहमन्त्री सुधन गुरुङबाट आवश्यक आश्वासन प्राप्त भएपछि आन्दोलनकारी पक्ष सन्तुष्ट भएको सांसद झाको दाबी छ ।
उनले केही राजनीतिक दलले वार्ता सफल हुन नदिने प्रयास गरेको आरोप पनि लगाए। तर, त्यस्ता प्रयास असफल भएको दाबी गर्दै उनले समाजमा अस्थिरता फैलाउने गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरे ।
‘समाजमा आगो बल्ने वातावरण सिर्जना गर्ने प्रयास कसैले पनि गर्नु हुँदैन। त्यसको असरबाट कोही पनि अछुतो रहँदैन,’ उनले भने ।