उखु किसानलाई पाँच महिनासम्म भुक्तानी नदिएको आरोपमा पक्राउ परेका सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्तालाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।
किसानको उजुरीका आधारमा काठमाडौंबाट पक्राउ गरी सर्लाही ल्याइएका गुप्तालाई करिब तीन सातासम्म जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार बोलाएको बेला उपस्थित हुने सर्तमा विश्वासिलो व्यक्तिको जमानतमा उनलाई रिहा गरिएको हो ।
गत माघ–फागुनमा बिक्री गरेको उखुको रकम नपाएको भन्दै ५० भन्दा बढी किसानले गुप्ताविरुद्ध उजुरी दिएका थिए । अन्नपूर्ण चिनी मिलले आर्थिक वर्ष २०८२/८३ को क्रसिङ सिजनमा तीन हजार १८६ किसानबाट करिब ९ लाख ९३ हजार ७५२ क्विन्टल उखु खरिद गरेको थियो ।कुल ६१ करोड ६१ लाख रुपैयाँभन्दा बढी मूल्यको उखु खरिद गरेको उद्योगले अझै करिब २२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ । यसअघि जिल्ला प्रशासनको छानबिन समितिले पनि उद्योगबाट किसानले करिब २२ करोड रुपैयाँ पाउन बाँकी रहेको प्रतिवेदन दिएको थियो ।
उद्योग प्रशासनले भने किसानलाई दैनिक भुक्तानी भइरहेको दाबी गरेको छ । नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष श्यामबाबु रायका अनुसार दशैंअघि सम्पूर्ण भुक्तानी गर्ने प्रतिबद्धतापछि किसान पक्षको सहमतिमै उद्योगी गुप्तालाई रिहा गरिएको हो ।
उखु बिक्री गरेको पाँच महिनासम्म पनि रकम नपाउँदा दैनिक घरखर्च, खेतीपाती, मलखाद खरिद तथा छोराछोरीको शिक्षामा समस्या परेको किसानहरूले गुनासो गरेका छन् ।