काठमाडौँपछि मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेको छ ।
निषेधाज्ञा हटेर बजार खुले पनि अधिकांश डिलर र पसलमा ग्यास नपाएपछि उपभोक्ता समस्यामा परेका छन् । जनकपुरका विभिन्न ग्यास डिलरहरूले अहिले ग्यास मौज्दात नभएको भन्दै ग्राहकलाई फर्काउने गरेका छन्। कतिपयले ग्राहकको नाम टिपेर ग्यास आएपछि सम्पर्क गर्ने आश्वासन दिइरहेका छन् ।
सुनसरी घटनापछि उत्पन्न तनावका कारण जनकपुरधाममा केही दिन कर्फ्यु जारी गरिएको थियो। कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएपछि बजार खुले पनि ग्यास आपूर्ति सहज हुन सकेको छैन । ग्यास अभावका कारण सर्वसाधारण खाली सिलिन्डर बोकेर विभिन्न डिलर चहार्न बाध्य भएका छन् । जनकपुर–१० की सुशीलादेवी साहले १० भन्दा बढी पसल धाउँदा पनि ग्यास नपाएको बताइन् । यस्तै, स्थानीय सञ्जय मिश्रले आन्दोलनअघि ग्यासको अभाव नरहेकाले अहिले कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंका व्यक्त गरे ।
रामानन्द चोक, पिडारी चोक, थापा चोक, भानु चोक, मुरली चोक र पेठिया बजारलगायत क्षेत्रमा पनि ग्यास अभाव देखिएको स्थानीयले बताएका छन्। विशेषगरी विद्यार्थी, डेरावाल, नर्स तथा दैनिक ज्यालादारी मजदुरहरू यसबाट बढी प्रभावित भएका छन् । उपभोक्ताले बजारमा कृत्रिम अभाव र कालोबजारी हुन सक्ने आशंका व्यक्त गर्दै प्रशासनलाई बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
यद्यपि, ग्यास अभावको कारणबारे सम्बन्धित निकायले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन ।