सिन्धुली जिल्लाको दुधौली नगरपालिकास्थित सरकारी जग्गामा गैरकानुनी रूपमा पार्किङ शुल्क उठाइएको पाइएको छ ।
नङ्गुर खोला जाने तीर्थयात्री तथा पर्यटकहरूलाई लक्षित गरी खोला किनारकै खाली सरकारी जग्गामा गाडी पार्किङ गरेबापत पवनी कन्स्ट्रक्सन प्रालिले जबर्जस्ती ५०० रूपैयाँ असुल्ने गरेको खुलासा भएको हो । गाडि चालकले पठाएकाे एउटा रसिदको तस्विरमा दुधौली नगरपालिकाको नाम उल्लेख गरिएको छ र त्यसमा 'पवनी कन्स्ट्रक्सन प्रा.ली.' को बिल र छाप लगाइएको छ । रसिदमा 'बाइक, अटो, बस, कार, जिप, ट्रक, ट्याक्टर' जस्ता सवारी साधनहरूको दैनिक पार्किङ शुल्क ५०० रूपैयाँ तोकिएको स्पष्ट देखिन्छ ।
स्थानीय स्रोतका अनुसार पवनी कन्स्ट्रक्सनले उक्त स्थानलाई ठेक्कामा लिएको दाबी गर्दै खोला किनारको पूर्णतया खाली र सरकारी जग्गामा जबर्जस्ती पैसा उठाउने काम गरिरहेको छ । उक्त क्षेत्र धार्मिक महत्त्व बोकेको नङ्गुर खोला जाने बाटोमा पर्ने हुँदा त्यहाँ आउने सर्वसाधारणहरू दैनिकजसो यो आर्थिक शोषणको सिकार बन्न बाध्य भएकाे स्थानीयले दाबी गरेका छन् ।
पीडित गाडि चालकहरूका अनुसार शुल्क नतिर्ने सवारी साधनहरूलाई ठेकेदार पक्षले रोक्ने र जबर्जस्ती रकम असुल्ने गरेका छन् । "यहाँ लाखाैँको पैसा उठाइँदै छ र त्यो सबै मिलेर बाँडेर खाइन्छ," एक गाडी चालकले आरोप लगाउँदै भने, "यो नगरपालिका क्षेत्रबाट निस्कनेबित्तिकै हामी लुटिने गरेका छौँ ।" यस विषयमा पटक-पटक सम्बन्धित निकाय र नगरपालिकामा गुनासो तथा उजुरी गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
स्थानीय प्रशासनले यस अवैध धन्दाको तत्काल छानबिन गरी दोषीहरूलाई कारबाही गर्न गाडि चालकहरूकाे माग रहेकाे छ ।