मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले खानतलासी गरेको छ ।
प्रहरीले सोमबार बिहान करिब ४ बजेदेखि विराटनगर–७ स्थित मुन्दडाको निवास र कार्यालयमा करिब साढे पाँच घण्टासम्म खानतलासी गरेको थियो । तर कुनै पनि आपत्तिजनक सामग्री वा नगद फेला नपरेपछि प्रहरी रित्तो हात फर्किएको छ ।
खानतलासीका क्रममा प्रहरीले निवास र कार्यालय क्षेत्रलाई घेरा हालेर सुरक्षा व्यवस्था कडा बनाएको थियो। साथै, घर वरपर सर्वसाधारणको आवतजावत तथा सवारीसाधन सञ्चालनसमेत केही समयका लागि रोकिएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङ र गोल्छा मोडतर्फ जाने सडकसमेत अवरुद्ध पारिएको थियो ।
अपरेसनमा जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर तथा इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । एक दर्जनभन्दा बढी प्रहरीका सवारीसाधन प्रयोग गरिएको उक्त अपरेसनको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका थिए ।
प्रहरी स्रोतका अनुसार मुन्दडाले अवैध रूपमा ठूलो परिमाणमा नगद राखेको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले खानतलासीका क्रममा कुनै नगद, कागजात वा अन्य आपत्तिजनक सामग्री बरामद नभएको जानकारी दिए ।
उनले भने, "विशेष सूचनाका आधारमा छापा हानेका थियौँ । लामो समय लगाएर घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो । तर, केही पनि फेला परेन ।"