केही दिनदेखि असहज बनेको लहानको अवस्था सामान्य बन्दै गए पनि एलपी ग्यासको माग भने बढेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताको चाप बढेको व्यवसायीहरूले बताएका छन् ।
लहान–६ स्थित रिजाल ग्यासमा सोमबार ग्यास सिलिन्डर आएपछि उपभोक्ताको ठूलो भीड लागेको थियो । माग अत्यधिक भएपछि वितरण व्यवस्थापनमा समस्या देखिएसँगै सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्नुपरेको जिल्ला उद्योग वाणिज्य संघ लहान, सिराहाका अध्यक्ष प्रदीप गुप्ताले जानकारी दिनुभयो ।
“केही महिनायता उपभोक्ताले ग्यास सिलिन्डर पाउन समस्या भएको गुनासो गर्दै आएका छन् । सहज आपूर्तिका लागि सरोकारवालासँग पटक–पटक छलफल गरेर पहल पनि भइरहेको छ,” उहाँले भन्नुभयो, “अहिले फेरि उपभोक्ताको चाप बढेको छ । समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ ।”
ग्यास सिलिन्डर आएपछि उपभोक्ताले एकैपटक बढी मात्रामा लैजान खोज्ने र होटल व्यवसायीहरूले समेत आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न खोज्दा वितरण व्यवस्थापनमा समस्या देखिएको लहान–१ का जितु सिंहले बताउनुभयो ।
उहाँका अनुसार नियमित रूपमा ग्यास उपलब्ध नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । सहज आपूर्ति भए उपभोक्ताको भीड र दबाबसमेत कम हुने उहाँको भनाइ छ । यता इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालले लहानका १८ वटा ग्यास डिलरमा नियमित आपूर्ति हुन नसक्दा मागअनुसार वितरण गर्न कठिनाइ भएको बताउनुभयो ।
उहाँले एलपी ग्यासको आपूर्ति सहज बनाउन सम्बन्धित उद्योग, व्यवसायी र सरोकारवाला निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
केही दिनयता सामाजिक तथा सुरक्षा अवस्थाका कारण बजार क्षेत्रमा देखिएको असहजता क्रमशः सामान्य हुँदै गए पनि अत्यावश्यक वस्तु एलपी ग्यासको अभाव र बढ्दो मागले उपभोक्तामा थप दबाब सिर्जना गरेको छ ।