राजविराज नगरपालिकाभित्रका अधिकांश सडकबत्ती लामो समयदेखि नबल्दा सर्वसाधारणले रातिको समयमा आवतजावत गर्न समस्या भोग्नुपरेको छ । मुख्य सडकदेखि विभिन्न वडाका टोल–टोलसम्मका सडकबत्ती बन्द हुँदा नगर क्षेत्र अन्धकारमय बनेको स्थानीयको गुनासो छ ।
राजविराज नगरपालिका–२ की सकिना खातुनले बजारबाट घर फर्किंदा रात पर्ने भएकाले अन्धकारमा हिँड्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “बजारमा व्यापार गरेर घर फर्किंदा प्रायः रात परिसकेको हुन्छ । बाटोका अधिकांश पोलमा बत्ती बल्दैनन्। वर्षायाममा अँध्यारो बाटो हिँड्न निकै समस्या हुन्छ,” उहाँले भन्नुभयो ।
स्थानीयवासीका अनुसार सडकबत्ती नहुँदा रातिको समयमा चोरी, लुटपाटलगायतका आपराधिक गतिविधिको जोखिमसमेत बढेको छ । नगरपालिकाले सार्वजनिक सुरक्षासँग जोडिएको विषयमा तत्काल ध्यान दिनुपर्ने उनीहरूको माग छ ।
इन्टेलेक्चुअल नेपाल सप्तरीका अध्यक्ष तथा शैक्षिक अभियन्ता डा. सूर्यप्रसाद यादवले सडकबत्ती नियमित सञ्चालन हुनुपर्ने भए पनि महिनौँदेखि सर्वसाधारण अन्धकारमा हिँड्न बाध्य हुनु दुःखद भएको बताउनुभयो ।
“राजविराजको मुख्य बजारदेखि टोल–टोलसम्म अन्धकार हुँदा पनि जनप्रतिनिधिले पर्याप्त चासो नदिनु दुःखद हो,” उहाँले भन्नुभयो । यता राजविराज नगरपालिकाका नगर प्रमुख इसरत परविनले सडकबत्ती खरिद प्रक्रिया पूरा भइसकेको र खरिद गरिएका बत्ती गुणस्तर परीक्षणका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ल्याब परीक्षणको प्रतिवेदन प्राप्त भएपछि बत्ती नबलेका सबै पोलमा नयाँ सडकबत्ती जडान गरिनेछ । “हामीले काम गर्न नचाहेका होइनौँ। हरेक कामको निश्चित प्रक्रिया हुन्छ । सोही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो,” नगर प्रमुख परविनले भन्नुभयो ।
उहाँले सार्वजनिक स्थानमा जडान गरिएका सडकबत्तीको उचित प्रयोग र संरक्षणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । सडकबत्ती दिनरात अनावश्यक रूपमा बलिरहने वा समयमै बन्द नगरिँदा यसको आयु घट्ने र मर्मत खर्च बढ्ने उहाँको भनाइ छ ।
नगर प्रमुख परविनले घरको बत्ती जस्तै सार्वजनिक सडकबत्ती पनि आवश्यक समयमा मात्र प्रयोग गर्ने बानी विकास गर्न सबैलाई आग्रह गर्नुभयो ।