मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । मुग्लिन बजार नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सोमबार दिउँसो २:१० बजेदेखि पहिरोका कारण यातायात अवरुद्ध भएको हो । पहिरो पन्छाउन एउटा उपकरण घटनास्थलमा परिचालन भइसकेको छ भने थप दुई वटा उपकरण पनि पठाइएको जनाइएको छ ।
कार्यालयले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्ने अनुमान गरेको छ ।
यसअघि सोमबार बिहान पनि सोही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको थियो । पहिरो पन्छाएपछि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक केही समयपछि दुईतर्फी सञ्चालनमा आएको थियो ।
तर पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
वर्षायामसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम बढ्दै गएको छ । यस सडकखण्डमा पटक–पटक पहिरो खस्दा यात्रु तथा मालवाहक सवारी साधन प्रभावित हुँदै आएका छन् । सडक डिभिजन कार्यालयले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।