केही दिनदेखि अशान्त बनेको मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ ।
सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि तनावग्रस्त बनेको मधेसको अवस्था पछिल्लो समय सामान्य बन्दै गएको हो । गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपछि आन्दोलन र तनावको अवस्था क्रमशः कम हुँदै गएको छ ।
तनावपछि धनुषा, सिराहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञा हटाइएको छ । निषेधाज्ञा हटेसँगै यातायातका साधन सञ्चालनमा आएका छन् भने बजार तथा व्यापारिक गतिविधि पनि पुनः सञ्चालन हुन थालेका छन् ।
स्थानीय विनोद साहका अनुसार यातायात सेवा सञ्चालनमा आएको र जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ । लामो समयदेखि प्रभावित दैनिक गतिविधि पुनः सुरु हुन थालेपछि स्थानीयमा राहतको अनुभूति भएको छ ।
यसैबीच, सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्न र कुनै पनि किसिमका अफवाहमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षसँग सहकार्य भइरहेको जनाउँदै संवेदनशील विषयमा संयम अपनाउन आग्रह गरेको छ । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सुरक्षा निकायले आवश्यक निगरानीसमेत बढाएको जनाएको छ ।