महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–४ स्थित गणेश चोकमा सोमबार बिहान ट्रकको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ
।
मृत्यु हुनेमा हरिपुर नगरपालिका–५, लक्ष्मीपुर निवासी ५० वर्षीय पञ्चलाल चौधरी रहेका छन् । उनी मजदुरीका लागि सासापुरस्थित गेला गाउँ जाँदै गर्दा बिहान करिब ७ बजे दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार चौधरी साइकलमा सवार भएर सडक पार गर्न खोजिरहेका बेला मधेश प्रदेश ०३–००२ ख ११९४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनी सडक किनारमा रोकिएको बसको अगाडिबाट सडक पार गर्ने क्रममा पछाडिबाट तीव्र गतिमा आएको ट्रकले किचेको हो ।
ट्रकको ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा पठाइएको छ ।
दुर्घटनापछि फरार भएको ट्रक र चालकलाई बागमती क्षेत्रबाट इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा ल्याइएको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिएका छन् ।