काठमाडौं । विभिन्न राजनीतिक दलहरूको संयुक्त पहलमा गठन हुन लागेको ‘अग्रगामी मोर्चा’ को औपचारिक घोषणा आगामी श्रावण २३ गते काठमाडौंमा हुने भएको छ । मोर्चामा आबद्ध दलहरूले देशलाई अग्रगामी राजनीतिक निकास दिने उद्देश्यसहित ऐतिहासिक घोषणा समारोह आयोजना गर्न लागिएको जनाएका छन् ।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी तथा बहुजन एकता पार्टी नेपाल लगायतका राजनीतिक दलहरूको सहभागिता रहने बताइएको छ ।
आयोजकका अनुसार घोषणा समारोह श्रावण २३ गते दिउँसो १ बजे काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा आयोजना हुनेछ ।
मोर्चामा आबद्ध दलहरूले लोकतान्त्रिक, संघीय तथा समावेशी राजनीतिक एजेन्डालाई सशक्त रूपमा अघि बढाउने उद्देश्य रहेको उल्लेख गर्दै घोषणा समारोहमा राजनीतिक दलका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् ।