रौतहट । रौतहटको गरुडा नगरपालिका र ईशनाथ नगरपालिकाका विभिन्न क्षेत्रमा अज्ञात वन्यजन्तुले बाख्रामाथि लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय, रौतहटले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
डिभिजन वन कार्यालयका अनुसार गरुडा नगरपालिका–१, जयनगर क्षेत्रमा करिब एक महिनादेखि अज्ञात वन्यजन्तुले बाख्राको खोरमै प्रवेश गरी बाख्रामाथि आक्रमण गर्ने, आन्द्राभुँडी तथा शरीरका विभिन्न भागमा क्षति पुर्याएर मार्ने घटना भइरहेका छन् । पछिल्ला दुई–तीन दिनयता ईशनाथ नगरपालिका–१ र ३ का विभिन्न स्थानमा पनि यस्तै प्रकृतिका घटना दोहोरिएको कार्यालयले जनाएको छ ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वन कार्यालयले आक्रमणकारी वन्यजन्तुको पहिचान तथा नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) सौराहासँग समन्वय गरी प्राविधिक टोली परिचालन गरिएको जनाएको छ ।
प्राविधिक टोलीले घटनास्थलमा निरन्तर खोज तथा निगरानी गरिरहेको भए पनि हालसम्म आक्रमण गर्ने वन्यजन्तुको पहिचान हुन नसकेको कार्यालयले जनाएको छ ।
वन कार्यालयले गरुडा, ईशनाथ तथा आसपासका क्षेत्रका स्थानीयलाई साँझपछि एक्लै घरबाहिर ननिस्कन, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष निगरानीमा राख्न, घरपालुवा पशु बलियो तथा सुरक्षित खोरमा राख्न र खोर वरिपरि पर्याप्त प्रकाशको व्यवस्था गर्न आग्रह गरेको छ। साथै, झाडी तथा फोहोर सफा गरी वन्यजन्तु लुक्न सक्ने सम्भावित स्थान हटाउन पनि अनुरोध गरिएको छ ।
त्यसैगरी, वन्यजन्तु देखिएमा त्यसको नजिक नजान, लखेट्ने वा समात्ने प्रयास नगर्न तथा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन वन कार्यालयले आग्रह गरेको छ । पशुमाथि आक्रमण भएको अवस्थामा घटनास्थलका पदचिह्न, रगत, कपाल, दिसालगायतका प्रमाण सुरक्षित राखी तत्काल डिभिजन वन कार्यालयलाई सूचना दिनसमेत अनुरोध गरिएको छ ।
डिभिजन वन कार्यालय, रौतहटले आक्रमणकारी वन्यजन्तुको पहिचान तथा नियन्त्रण नभएसम्म सबै स्थानीयलाई उच्च सतर्कता अपनाउन र कुनै पनि घटना भएमा वन्यजन्तुसँग प्रत्यक्ष सम्पर्क नगरी सम्बन्धित निकायलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।