नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलन घोषणा गरेको छ ।
अघिल्लो वर्ष काठमाडौं केन्द्रित ठूलो आन्दोलन गरेको महासंघले ९ बुँदे सहमति कार्यान्वयनको माग गर्दै भदौदेखि चरणबद्ध आन्दोलन गर्ने जनाएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा जान बाध्य भएको बताए । उनले सहमतिअनुसार अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राखे ।
महासंघले विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास कक्षाका शिक्षक तथा संघीय सिकाइ अनुदानमा कार्यरत शिक्षकका लागि तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था गर्नुपर्ने माग गरेको छ । त्यस्तै, स्थायी शिक्षकको बढुवा प्रक्रिया सहज बनाउनुपर्ने, नयाँ सेवा प्रवेश गरेका शिक्षकलाई सरुवाको व्यवस्था गर्नुपर्ने तथा दशौँ संशोधित शिक्षा नियमावलीका कारण उत्पन्न समस्या समाधान गर्नुपर्ने माग पनि महासंघले अघि सारेको छ ।
महासंघले भदौ महिनाबाट चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । घोषित कार्यक्रमअनुसार भदौ ५ गते जिल्ला सदरमुकाममा विरोधसभा, भदौ १२ गते सडक केन्द्रित धर्ना, भदौ २० गते विद्यालय बन्द गरी शैक्षिक हड्ताल र भदौ २४ गते काठमाडौं केन्द्रित विशाल र्यालीसहित आन्दोलन गर्ने तयारी गरिएको छ ।
महासंघले “शिक्षकको सम्मान, शिक्षाको गुणस्तर र हकअधिकार सुनिश्चितताका लागि हाम्रो आन्दोलन, हाम्रो अधिकार” भन्ने नारासहित आन्दोलन अघि बढाउने जनाएको छ ।