पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीस्थित महुवा खोलानजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार राति भएको दुर्घटनामा महादेवा गाउँपालिका–१ रामटोलका ३५ वर्षीय सन्तोष राम र ३७ वर्षीय शंकर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पकरीबाट बथनाहातर्फ जाँदै गरेको प्रदेश २–०१–००६ प २४९६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई सडक किनारको कल्भर्टमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सन्तोष राम र पछाडि सवार शंकर राम गम्भीर घाइते भएका थिए । गम्भीर घाइते सन्तोष रामको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, शंकर रामलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।