विद्यालय तह (कक्षा १ देखि १२ सम्म) मा थप आठ वटा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रमको मस्यौदा तयार गरी स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरिएको छ ।
शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को हालै बसेको बैठकले आठ वटा नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषद्का सदस्यसचिव युवराज पौडेलका अनुसार कानुनी व्यवस्थाअनुसार परिषद्ले सिफारिस गरेपछि मन्त्रालयबाट अन्तिम स्वीकृति लिनुपर्ने भएकाले पाठ्यक्रमको मस्यौदा मन्त्रालयमा पेस गरिएको हो ।
सिफारिस गरिएका नयाँ पाठ्यक्रममध्ये आधारभूत शिक्षा (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषय रहेका छन् । त्यस्तै माध्यमिक शिक्षा (कक्षा ९–१०) अन्तर्गत जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि पठाइएको छ ।
माध्यमिक शिक्षा (कक्षा ११–१२) अन्तर्गत भने संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम सिफारिस गरिएको छ ।
मन्त्रालयबाट अन्तिम स्वीकृति पाएपछि यी पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रिया अघि बढाइनेछ । नयाँ पाठ्यक्रम थपिएसँगै कक्षा १ देखि १२ सम्मका लागि तयार गरिएका पाठ्यक्रमको संख्या तीन सयभन्दा बढी पुग्नेछ ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेका अनुसार विज्ञ तथा सरोकारवालाबाट आएका सुझाव र आवश्यकताका आधारमा नयाँ पाठ्यक्रम निर्माण गरिने गरिएको छ ।
तर निर्माण गरिएका सबै पाठ्यक्रम विद्यालयमा कार्यान्वयन भने हुन सकेका छैनन् । कतिपय पाठ्यक्रममा विद्यार्थीको संख्या कम हुनु तथा विषय पढाउने जनशक्ति अभावका कारण कार्यान्वयनमा समस्या देखिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार एउटै विषयको पनि कक्षाअनुसार फरक–फरक पाठ्यक्रम निर्माण गर्नुपर्ने भएकाले संख्या धेरै देखिएको हो । कक्षा १–३, ४–५, ६–८, ९–१० र ११–१२ का लागि एउटै विषयको छुट्टाछुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने व्यवस्था रहेको छ ।