मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ता दैनिक जीवनमा समस्या भोग्न बाध्य भएका छन् ।
वीरगञ्ज, कलैया, जनकपुर, लहान, राजविराज, मलंगवा, गौर लगायतका मुख्य बजारमा एक सातादेखि ग्यास सहज रूपमा उपलब्ध हुन नसकेपछि उपभोक्ता खाली सिलिन्डर बोकेर एक डिलरबाट अर्को डिलरसम्म धाउन बाध्य भएका हुन् । ग्यास अभावका कारण घरपरिवारसँगै होटल, रेष्टुरेन्ट तथा साना व्यवसाय समेत प्रभावित भएका छन् । विशेषगरी काेठा डेरा गरी बस्ने विद्यार्थी, स्वास्थ्यकर्मी, ज्यालादारी मजदुर तथा साना होटल सञ्चालकलाई दैनिक खाना पकाउन समस्या भएको छ ।
वीरगंजकाे पानीटंकी, राधेमाइ, श्रीपुर, मुर्लि, विर्ता त्यस्तै जनकपुरधामकाे रामानन्द चोक, पिडारी चोक, थापा चोक, भानु चोक, मुरली चोक र पेठिया बजार क्षेत्रमा रहेका अधिकांश ग्यास डिलरले ग्यास सकिएको भन्दै उपभोक्तालाई नाम टिपाएर फर्काउने गरेका छन् । कतिपय डिलरले पसल नै बन्द गरेका छन् भने खुलेका पसलमा पनि नयाँ ग्यास नआएको जानकारी दिएर फर्काउने गरेकाे छ ।
उपभोक्ताहरूका अनुसार एक साताभन्दा बढी समयदेखि कुनै पनि कम्पनीको ग्यास नियमित रूपमा वितरण हुन सकेको छैन । यसले दैनिक उपभोगमा प्रत्यक्ष असर परेको उनीहरूको गुनासो छ । ग्यास अभावको असर साना होटल तथा रेष्टुरेन्ट व्यवसायमा समेत देखिन थालेको छ । सीमित मौज्दातका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको र केहीले अस्थायी रूपमा सेवा बन्द गर्नुपर्ने अवस्था आएको व्यवसायीहरू बताउँछन् ।
यसैबीच, बजारमा सर्वसाधारणले ग्यास नपाए पनि केही ठूला होटल तथा व्यावसायिक प्रतिष्ठानलाई बढी मूल्यमा ग्यास उपलब्ध गराइएको भन्ने गुनासो समेत आउने गरेको छ ।
सुनसरी घटनापछि केही दिन बजार बन्द भए पनि त्यतिबेला बिक्रीसमेत न्यून भएकाले मौज्दात ग्यास एकाएक सकिनुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । “दुई दिन बजार बन्द थियो, बिक्री नै कम भएको अवस्थामा ग्यास अचानक कसरी सकियो ?” भन्दै उपभोक्ताले सम्बन्धित निकायसँग वास्तविक मौज्दात सार्वजनिक गर्न र बजार अनुगमन प्रभावकारी बनाउन माग गरेका छन् ।
आपूर्ति अवरोधका कारण समस्या आएको व्यवसायीको दाबी
ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले ग्यास अभाव कृत्रिम नभई आपूर्ति प्रणालीमा आएको अवरोधका कारण भएको दाबी गरेका छन् ।
उनका अनुसार सुनसरी घटनापछि लगाइएको कफ्र्यु, निषेधाज्ञा तथा यातायात अवरोधका कारण करिब एक सातासम्म ग्यास बोकेका ट्यांकर सञ्चालन हुन सकेनन् । पछिल्ला दुई दिनदेखि विभिन्न कम्पनीका ग्यास आउन थालेकाले आपूर्ति क्रमशः सहज हुँदै गएको उनले बताए । पण्डितले समस्या जनकपुरधाम वा मधेश प्रदेशमा मात्र सीमित नभई देशभर देखिएको बताए । भारतको बरौनीबाट हुने प्रत्यक्ष ढुवानी प्रभावित भएपछि हाल हल्दिया, मथुरा लगायतका रुटबाट ग्यास ल्याउनुपरेकाले ढुवानीमा बढी समय लागेको उनको भनाइ छ ।
उनले हाफ सिलिन्डरबाट फुल सिलिन्डर व्यवस्थापन प्रणालीमा गरिएको परिवर्तनले पनि केही समय आपूर्ति व्यवस्थापनमा समस्या सिर्जना गरेको बताए ।
अनुगमन गर्न उपभोक्ताको माग
नेपाल आयल निगमले भने कुनै डिलर वा विक्रेताले ग्यास उपलब्ध नगराएको वा अनियमितता गरेको जानकारी भए तत्काल निगम वा सम्बन्धित निकायमा सूचना दिन उपभोक्तालाई आग्रह गरेको छ ।
उपभोक्ता अधिकारकर्मीहरूले बजारमा ग्यासको वास्तविक मौज्दात, वितरण प्रक्रिया र डिलरहरूको बिक्री अभिलेख तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संयुक्त रूपमा बजार अनुगमन गरी कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
आपूर्ति सहज नहुँदा मधेश प्रदेशका हजारौं घरपरिवार तथा व्यवसाय प्रत्यक्ष प्रभावित भइरहेका छन् ।