महोत्तरीको गौशाला नगरपालिका–९ स्थित डुमरवानाको भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहान करिब ७ः३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा.१क ६१२९ नम्बरको मोडर्न सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने बाँकी पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उपचार गौशालास्थित बिके अस्पताल तथा स्थानीय मेडिकलमा भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।