सप्तरीको खडक नगरपालिका–४ पन्सेरा टोलबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २८ वर्षीय राजेश कुमार चौधरी रहेका छन् । चौधरीले आफ्नै घरबाट ब्राउन सुगर बिक्री–वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कडोरबोनाबाट खटिएको प्रहरी टोलीले शनिबार उनको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा चौधरीले लगाएको पाइन्टको गोजीबाट ब्राउन सुगरजस्तो देखिने ८ ग्राम ४ सय मिलिग्राम निलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
यसै क्रममा प्रहरीले चौधरीको साथबाट नगद ५ हजार ४ सय रुपैयाँ, तीन थान मोबाइल फोन तथा प्र.३–०२–०१२ प ३५६२ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका चौधरीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिएका छन् ।