सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र साहले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत हरिवन नगरपालिकाका ११ वटै वडाका स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा जनसुनुवाइ कार्यक्रम सम्पन्न गरेका छन् ।
साउन १३ गते आयोजित निर्वाचन क्षेत्र भेटघाट तथा जनसुनुवाइ कार्यक्रममा सहभागी हुँदै सांसद साहले वडा नम्बर १ देखि ११ सम्मका नागरिकसँग शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, मलखाद, सडक, खानेपानी, विद्युत्, रोजगारीलगायत स्थानीय सरोकारका विविध विषयमा छलफल गरेका हुन् । कार्यक्रममा स्थानीयवासीले आफ्ना समस्या, सुझाव, अपेक्षा तथा विकासका प्राथमिकताबारे धारणा राखेका थिए । ती विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरणमार्फत समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता सांसद साहले व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद साहले जनप्रतिनिधिको पहिलो दायित्व जनताको आवाज सुन्नु, उनीहरूका गुनासा सम्बन्धित निकायसम्म पुर्याउनु तथा समाधानका लागि प्रभावकारी पहल गर्नु रहेको बताएका छन् ।
उनले कार्यक्रममा सक्रिय सहभागिता जनाई सुझाव, विश्वास र साथ दिएकोमा हरिवनवासीप्रति आभार व्यक्त गर्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरेका छन् ।
सांसद साहले देश र जनताको हितलाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारीबाट कुनै पनि परिस्थितिमा पछि नहट्ने प्रतिबद्धता जनाउँदै नागरिकका समस्या तथा अपेक्षालाई सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि निरन्तर प्रयासरत रहने विश्वास दिलाएका छन् ।